भजनसंग्रह38

दावीदको भजन।

1हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्;वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।2किनकि तपाईंका काँडहरूले मलाई घोचेका छन्,र तपाईंको हात ममाथि परेको छ।3तपाईंको क्रोधले गर्दा मेरो शरीर तन्दुरुस्त छैन;मेरा पापको कारणले गर्दा मेरा हाडहरू स्वस्थ छैनन्।4मेरा अधर्महरूले मलाई ढाकिसकेको छ,बोक्न नसक्ने भारीझैँ ती धेरै गह्रौँ भएका छन्।
5मेरो पापमय मूर्खताको कारणले गर्दा,मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।6म झुकेर धुलैमा मिलिसकेको छु;सारा दिन म विलाप गर्दै हिँड्छु।7मेरो ढाड जलनको पीडाले भरिएको छ;मेरो शरीर स्वस्थ छैन।8म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु;हृदयको पीडामा म कहालिन्छु।
9हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्;मेरा सुस्केरा तपाईंबाट लुकेको छैन।10मेरो मुटु छिटो-छिटो धड्कन्छ; मेरो बलले भ्याउँदैन;मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।11मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्;मेरा छिमेकीहरू टाढै उभिन्छन्।12मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्;मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्;दिनभरि छली योजना रच्दछन्।
13म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्‍न सक्दैन;बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु;14सुन्‍न नसक्ने मानिसजस्तै म भएको छु,जसको मुखले जवाफै दिन सक्दैन।15हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु;हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ।16किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्,वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”
17किनकि म त ढल्नै लागेको छु;र मेरो पीडा सधैँ मसँग छ।18मेरो अधर्म म स्वीकार गर्दछु;मेरो पापको कारण म दुःखित छु।19कारणविना मेरा शत्रुहरू धेरै भएका छन्;कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।20मेरो भलाइको साटो खराबी गर्दछन्,मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनिमेरो विरुद्धमा दोष लगाउँछन्।
21हे याहवेह, मलाई नत्याग्नुहोस्;हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्!22हे प्रभु, मेरा मुक्तिदाता,मलाई सहायता गर्न चाँडै आउनुहोस्!