प्रस्थान25
समागम पालका निम्ति भेटीहरू
1याहवेहले मोशालाई भन्नुभयो,2“इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।3“तिनीहरूबाट तैँले प्राप्त गर्नुपर्ने भेटीहरू यिनै हुन्:“सुन, चाँदी र काँसो;4निलो र बैजनी, रातो धागो र मसिनो सुती कपडा; बाख्राको भुत्ला;5भेडाका रातो रङ्गले रङ्गाएको छालाहरू र सीलका छालाहरू; बबुलका काठ;6बत्तीको निम्ति जैतुनको तेल; अभिषेक गर्नका निम्ति तेल र सुगन्धित धूपका निम्ति मसलाहरू;7अनि एपोदर छाती-पाता जड्नका निम्ति गोमेद र अरू रत्नहरू।8“तब तिनीहरूले मेरा लागि एउटा समागम पाल बनाऊन्, र म तिनीहरूको माझमा बास गर्नेछु।9मैले तँलाई जस्तो नमुना देखाउनेछु, ठिक त्यहीअनुसार समागम पाल र त्यसका सबै सामानहरू बनाउनू।