1त्यसपछि उहाँले मोशालाई भन्नुभयो, “तँ र हारून, नादाब र अबीहू, र इस्राएलका सत्तरी जना प्रधानहरू याहवेहकहाँ माथि उक्लेर आओ। तिमीहरू टाढै रहेर आराधना गर्नू,2तर मोशामात्र याहवेहको नजिक आओस्; अरू कोही पनि नजिक नआऊन्। अनि मानिसहरू पनि ऊसँग माथि उक्लेर नआऊन्।”3जब मोशाले गएर मानिसहरूलाई याहवेहका सबै वचन र व्यवस्थाहरू भनिदिए; तब तिनीहरूले एकै सोरले जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ।”4तब मोशाले याहवेहले भन्नुभएका प्रत्येक कुराहरू लेखे। तिनी भोलिपल्ट बिहानै उठे र पर्वतको फेदीमा एउटा वेदी बनाए, र इस्राएलका बाह्र कुलको प्रतिनिधित्व गर्नलाई बाह्र वटा ढुङ्गाका खम्बाहरू खडा गरे।5तब तिनले जवान इस्राएली मानिसहरूलाई पठाए, र तिनीहरूले याहवेहका निम्ति होमबलि चढाए, र मेलबलिको रूपमा जवान बहरहरू बलिदान गरे।6मोशाले आधा रगत लिएर कचौराहरूमा हाले र अर्को आधा भागचाहिँ वेदीमाथि छर्किदिए।7तब तिनले करारको पुस्तक लिएर मानिसहरूलाई पढेर सुनाए। तिनीहरूले जवाफ दिए, “याहवेहले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौँ; हामी ती पालन गर्नेछौँ।”8तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “यो रगत यी वचनहरूका आधारमा याहवेहले तिमीहरूसित गर्नुभएको करारको रगत हो।”9त्यसपछि मोशा, हारून, नादाब, अबीहू, र इस्राएलका सत्तरी प्रधानहरू माथि उक्लेर गए;10अनि तिनीहरूले इस्राएलका परमेश्वरलाई देखे। उहाँको खुट्टामुनि निलो आकाशझैँ सफा नीलमणि थियो।11तर परमेश्वरले इस्राएलका ती अगुवाहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन; तिनीहरूले परमेश्वरलाई देखे, र तिनीहरूले खानपिन गरे।12तब याहवेहले मोशालाई भन्नुभयो, “मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।”13तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए।14मोशाले प्रधानहरूलाई भने, “हामी तपाईंहरूकहाँ नआउन्जेल यहीँ हामीलाई पर्खिबस्नुहोस्। हारून र हूर तपाईंहरूसँग छन्; अनि कसैको केही विवाद भए तिनीहरूकहाँ जानू।”15जब मोशा उक्लेर पर्वतमाथि गए, तब बादलले त्यस पर्वतलाई ढाक्यो।16अनि याहवेहको महिमा सीनै पर्वतमा रह्यो। छ दिनसम्म बादलले पर्वतलाई ढाकिरह्यो; र सातौँ दिनमा याहवेहले बादलभित्रबाट मोशालाई बोलाउनुभयो।17इस्राएलीहरूका निम्ति याहवेहको महिमा पर्वतको टाकुरामा भस्म पार्ने आगोझैँ देखियो।18मोशा पर्वतमाथि उक्लँदै गएर बादलभित्र प्रवेश गरे। अनि तिनी पर्वतमाथि चालीस दिन र चालीस रात रहे।