गन्ती8

बत्तीको व्यवस्थापन

1याहवेहले मोशालाई भन्‍नुभयो,2“हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”3अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे।4सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।

लेवीहरूलाई अलग गरिएको

5याहवेहले मोशालाई भन्‍नुभयो:6“लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्।7तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानीछर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्।8तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्‍नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू।9लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू।10तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्।11हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्।12“लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।13लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।14यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्।15“तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्।16इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु।17इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ।18अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।”19इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्‍चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु।20यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।21लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्‍चित गरे।22त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।23याहवेहले मोशालाई भन्‍नुभयो,24“लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्‍चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्।25तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्।26तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”