गन्ती24
1जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।2जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।3अनि तिनले आफ्नो सन्देश भन्न थाले:“बओरका छोरा बालामको अगमवाणी,उसको अगमवाणी जसको आँखाले स्पष्ट गरी देख्छ;4उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ,जसले सर्वशक्तिमान्बाट दर्शन देख्छ,जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्ला रहन्छन्:5“हे याकोब, तेरा पालहरू,हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!6“टाढासम्म फैलिएका बेँसीहरूझैँ,नदीको छेउमा भएका बगैँचाहरूझैँ,याहवेहद्वारा रोपिएका एलवाहरूझैँ,पानीको छेउमा भएका देवदारुहरूझैँ।7तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ;तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्।“तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्;तिनीहरूको राज्य उच्च पारिनेछ।8“परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो;तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ।तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्,र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्;तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।9तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्,एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र?“तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्,र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”10त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।11अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”12बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,13‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’14अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”