यहोशू13
जित्न बाँकी रहेका देशहरू
1जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।2“बाँकी रहेका देशहरू यिनै हुन्:“पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका:3इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका4दक्षिणमा; कनानीहरूका सबै देशहरू, सीदोनीहरूको आरादेखि एमोरीहरूको इलाका अपेकसम्म;5गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म।6“लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।7अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।”