1त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।2तिनले भने:3“म जन्मेको त्यो दिनलाई धिक्कार होस्!र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!4त्यो दिन अन्धकारमा परिणत होस्;उच्चमा हुनुहुने परमेश्वरले त्यस दिनको वास्तै नगरून्;न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।5त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;त्यो दिनमाथि बादल छाओस्;र घोर अन्धकारले भयभीत पारोस्।6त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;न त त्यो दिन कुनै महिनामा आओस्।7त्यो रात बाँझो होस्;त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।8दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेतत्यो दिनलाई धिक्कारून्।9त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;10किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।11“किन म जन्मँदै मरिनँ,अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?12किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,र मलाई दूधपान गराउने स्तनहरू थिए?13नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;म सुतेको अवस्थामा विश्राम पाउँथेँ।14पृथ्वीका राजाहरू र राजाका सल्लाहकारहरूसँग,जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;15सुन भएका भारदारहरूसँग,जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।16अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?17दुष्ट मानिसहरू पनि चिहानमा दुष्ट्याइँ गर्न छोड्छन्;र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।18त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।19साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।20“किन कष्टमा भएकाहरूलाई ज्योति,र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?21जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,22तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।23मानिसलाई जीवन किन दिइन्छ?जसको मार्ग लुकिएको छ,जसलाई परमेश्वरले दुःखको घेरा भित्र राख्नुभएको छ।24किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।25म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।26न मलाई शान्ति छ, न त सुख नै छ;मेरा निम्ति आराम छैन, तर दुःख-कष्ट मात्र छ।”