उत्पत्ति37
योसेफका सपनाहरू
1याकोब आफ्ना पिता परदेशी बनेर बसेको देश कनानमा बसे।2याकोबका वंशको विवरण यही हो।योसेफ सत्र वर्षको जवान हुँदा तिनका दाजुहरूसँग भेडाबाख्राका बगालहरू चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको खबर आफ्ना बुबाकहाँ ल्याए।3इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।4तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।5योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।6तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्:7हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”8यो सुनेर तिनका दाजुहरूले तिनलाई भने, “के तँ हामीमाथि शासन गर्न खोज्दैछस्? के तैँले साँच्चै नै हामीमाथि शासन गर्नेछस्?” अनि त्यो सपना र तिनले भनेका कुराको कारण उनीहरूले तिनलाई झन् धेरै घृणा गरे।9त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”10जब तिनले आफ्ना दाजुहरूलाई बताएझैँ त्यो सपना आफ्ना पितालाई पनि बताए; तब तिनका पिताले तिनलाई हप्काउँदै भने, “तैँले देखेको यो सपना कस्तो हो? के तेरी आमा र मैले अनि तेरा दाजुहरूले साँच्चै आएर तेरो सामु भुइँसम्मै निहुरेर तँलाई दण्डवत् गर्नुपर्ने हो?”11तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।