1अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्;2अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए।3यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्।4अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। जब त्यसले आफू गर्भवती भएकी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई हेप्न थाली।5तब साराईले अब्रामलाई भनिन्, “मैले भोगिरहेको कष्टको लागि तपाईं जिम्मेवार हुनुहुन्छ। मैले मेरी दासीलाई तपाईंको अँगालोमा सुम्पेँ; अब त्यसले आफू गर्भवती भएकी थाहा पाएर मलाई हेप्न थालेकी छ। याहवेहले नै तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्।”6अब्रामले भने, “तिम्री दासी तिम्रै हातमा छे। तिमीलाई जे उचित लाग्छ, त्यससित त्यसै गर।” तब साराईले हागारसित दुर्व्यवहार गरिन्; त्यसकारण त्यो साराईबाट भागेर गई।7पछि याहवेहका दूतले हागारलाई उजाडस्थानमा पानीको मूलको छेउमा भेटे; त्यो मूल शूरतिर जाने बाटोको छेउमा थियो।8अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”9तब याहवेहका दूतले त्यसलाई भने, “तँ आफ्नी मालिक्नीकहाँ जा, र तिनकै अधीनमा बस्।”10याहवेहका दूतले फेरि भने, “म तेरा सन्तानहरूलाई यति धेरै बढाउनेछु कि तिनीहरूलाई गन्न सकिनेछैन।”11याहवेहका दूतले त्यसलाई यो पनि भने:“तँ गर्भवती छस्,र तैँले एउटा छोरा जन्माउनेछस्।तैँले उसको नाम इश्माएल राख्नू;किनकि याहवेहले तेरो कष्टको पुकार सुन्नुभएको छ।12तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ;उसको हात सबैको विरुद्धमा उठ्नेछ,अनि सबैको हात उसको विरुद्धमा उठ्नेछ;र ऊ आफ्ना दाजुभाइहरूसँगशत्रुतामा बसोबास गर्नेछ।”13हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।”14त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइभनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।15यसरी हागारले अब्रामका निम्ति एउटा छोरा जन्माई; अनि अब्रामले हागारले जन्माएको आफ्नो छोराको नाम इश्माएल राखे।16हागारले तिनका लागि इश्माएललाई जन्माउँदा अब्राम छयासी वर्षका थिए।