एज्रा6
राजा दाराको उर्दी
1त्यसपछि राजा दाराले एउटा हुकुम जारी गरे। अनि तिनीहरूले बेबिलोनका राजभण्डारमा राखिएका अभिलेखहरूमा खोजी गरे।2मादी प्रान्तको एकबतानाको किल्लामा एउटा चर्मपत्र भेट्टाए। अनि त्यसमा यस्तो विवरण लेखिएको थियो: स्मारिका-पत्र:3राजा कोरेसको पहिलो वर्षमा, यी राजाले यरूशलेममा परमेश्वरको मन्दिरको विषयमा एउटा उर्दी जारी गरे।यहूदीहरूले पहिले बलिदान चढाउने गरेकै ठाउँमा बलिदानहरू चढाउने ठाउँको रूपमा मन्दिरको पुनर्निर्माण गरियोस्; अनि मन्दिरको जग बसालियोस्। यसको उचाइ साठी क्यूबिट र चौडाइ साठी क्यूबिट होस्।4विशाल ढुङ्गाहरूका तीन लहरहरू होस्, र काठको एक लहर होस्। यसको खर्च राजकीय कोषबाट बेहोरियोस्।5नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाहरू पनि यरूशलेमको मन्दिरमा तिनीहरूकै ठाउँहरूमा फर्काएर लगिनुपर्छ। ती सरसामानहरू परमेश्वरको भवनमा जम्मा गरिनुपर्छ।6त्यसैले अब यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र त्यस प्रान्तमा रहेका तिनीहरूका सह कर्मचारीहरू, त्यस ठाउँदेखि अलग रहून्।7तिमीहरूले परमेश्वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्।8यसबाहेक परमेश्वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्।9तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ;10ताकि तिनीहरूले स्वर्गका परमेश्वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्।11अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्।12यरूशलेमको मन्दिरलाई नष्ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्ट पारून्। म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्।