1“तैँले तिनीहरूका सामु स्थापना गर्नुपर्ने नियमहरू यिनै हुन्:
हिब्रू सेवकहरू
2“तैँले हिब्रू सेवकलाई किनिस् भने उसले छ वर्षसम्म तेरो सेवा गरोस्। तर सातौँ वर्षमा उसले केही नतिरी स्वतन्त्र भएर जाओस्।3यदि त्यो एकलै आएको भए, एकलै स्वतन्त्र भएर जाओस्; तर त्यो आउँदा त्यससँग पत्नी पनि थिई भने ऊ पनि त्यससितै जाओस्।4यदि उसका मालिकले उसलाई पत्नी दिएको हो भने, र त्यसले छोराछोरी जन्माई भने त्यो स्त्री, र त्यसका छोराछोरी त्यसका मालिकका हुनेछन्; तर त्यो मानिस मात्र स्वतन्त्र भएर जाओस्।5“तर त्यस सेवकले ‘म मेरा मालिक, आफ्नी पत्नी र छोराछोरीलाई माया गर्छु; अनि स्वतन्त्र भएर जान चाहन्नँ’ भनेर घोषणा गर्यो भने,6उसका मालिकले उसलाई न्यायकर्ताहरूकासामु लगोस्। तिनले त्यसलाई ढोका अथवा ढोकाको खाँबोमा लगेर त्यसका कान सियोले छेडोस्; तब त्यो जीवनभरिका लागि त्यस मालिकको दास हुनेछ।7“यदि कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेच्छ भने त्यो दासी पुरुष दासहरूझैँ स्वतन्त्र भएर जान पाउनेछैन।8यदि त्यसलाई किन्ने मालिकलाई त्यसले प्रसन्न पार्न सकिन भने तिनले त्यसलाई फेरि किनिनका लागि छाडिदिनुपर्छ। मालिकले त्यससँग विश्वास तोडेका कारण त्यसलाई परदेशीको हातमा बेच्ने अधिकार हुँदैन।9तिनले त्यसलाई आफ्नो छोराको लागि चुन्छन् भने तिनले त्यसलाई छोरीको अधिकार दिनुपर्छ;10तर त्यसले अर्की पत्नी ल्यायो भने त्यसले जेठीलाई भोजन, लुगाफाटा र वैवाहिक अधिकारदेखि वञ्चित नगरोस्।11यदि त्यसले उसलाई यी तीन कुराहरू दिँदैन भने त्यो कुनै मोल नतिरी स्वतन्त्र भएर जाओस्।
व्यक्तिगत चोट
12“कसैले कुनै मानिसलाई हिर्काएर मार्यो भने त्यो पनि मारिनैपर्छ।13तरै पनि यदि त्यसले जानाजानी त्यसो गर्दैन, तर परमेश्वरले नै त्यसो हुन दिनुभयो भने जुन ठाउँ म तोक्नेछु; त्यो त्यहाँ भागेर जाओस्।14तर कुनै मानिसले योजना बनाएर छलपूर्वक अर्को मानिसलाई मार्छ भने त्यसलाई मेरो वेदीबाट लगेर मार्नैपर्छ।15“जसले आफ्ना बुबा वा आमामाथि आक्रमणगर्छ, त्यो मारिनैपर्छ।16“जसले कुनै मानिसलाई अपहरण गर्छ वा बिक्री गर्छ, अथवा त्यो पक्राउ पर्दा ऊ त्यससितै रहेको अवस्थामा फेला परियो भने त्यो मारिनैपर्छ।17“जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनैपर्छ।18“यदि मानिसहरू झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा अथवा मुक्कालेहिर्कायो, र त्यो नमरेर ओछ्यान पर्यो,19अनि उठेर आफ्नो लहुरोको सहायताले बाहिर यताउता हिँड्न थाल्यो भने त्यो हिर्काउने मानिस निर्दोष ठहरियोस्; तरै पनि त्यसले घाइते मानिसको खेर गएको समयको क्षतिपूर्ति देओस्, र त्यो पूरा निको नहोउन्जेल त्यसले त्यस मानिसको उपचार गरोस्।20“कुनै मानिसले आफ्नो दास वा दासीलाई लहुरोले हिर्कायो, र ऊ त्यही कारणले मर्यो भने त्यसले दण्ड पाउनैपर्छ।21तर यदि त्यो दास एक दुई दिनमा उठ्यो भने त्यसलाई दण्ड नदिइयोस्; किनकि त्यो दास त्यसकै सम्पत्ति हो।22“मानिसहरू झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई लाग्यो, र त्यसले समय नपुगी नै बच्चा जन्माई,तर अरू चोट लागेको छैन भने त्यस कसुरदारलेत्यस स्त्रीको पतिले तोकेको र अदालतले अनुमति दिएबमोजिम जरिमाना तिरोस्।23तर यदि गम्भीर चोट लागेको छ भने तिमीहरूले प्राणको सट्टा प्राण लिनू,24आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा,25डामको सट्टा डाम, कुटाइको सट्टा कुटाइ र चोटको सट्टा चोट।26“यदि कुनै मानिसले आफ्नो दास वा दासीलाई आँखामा हिर्कायो, र आँखा फुट्यो भने त्यसले आँखाको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।27अनि यदि त्यसले आफ्नो दास वा दासीको दाँत हिर्काएर भाँचिदियो भने त्यसको दाँतको क्षतिपूर्तिस्वरूप त्यसलाई स्वतन्त्र भएर जान देओस्।28“यदि कुनै गोरुले कुनै पुरुष वा स्त्रीलाई सिङले हानेर मार्यो भने त्यस गोरुलाई ढुङ्गाले हानेर मारियोस्, र त्यसको मासु नखानू। तर त्यस गोरुको मालिक त्यसको जिम्मेवार हुनेछैन।29तर यदि त्यस गोरुको पहिलेदेखि नै हान्ने स्वभाव थियो, र त्यसको मालिकलाई चेतावनी दिइएको थियो, तर उसले त्यसलाई बाँधेर राखेन, र त्यसले कुनै पुरुष वा स्त्रीलाई मार्यो भने त्यो गोरुलाई ढुङ्गाले हानेर मारियोस्, साथै त्यो मालिक पनि मारिनुपर्छ।30तर यदि त्यस गोरुको मालिकबाट छुटकाराको दाम मागियो भने त्यो आफ्नै प्राणको निम्ति तोकिएको रकम तिरेर छुटोस्।31त्यस गोरुले छोरा वा छोरीलाई सिङले हानेर मार्यो भने पनि यही नियम लागू हुन्छ।32यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर मार्यो भने त्यस गोरुको मालिकले दास-दासीको मालिकलाई चाँदीको तीस शेकेलतिरोस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानेर मारियोस्।33“कुनै मानिसले खाडल खनेर खुल्लै राख्यो, अथवा खनेर त्यसलाई छोपेन; अनि त्यसभित्र कुनै गोरु अथवा गधा खस्यो भने,34त्यस खाडलको मालिकले त्यस नोक्सानीको साटो रकम तिरोस्। उसले त्यसको मालिकलाई रकम तिरोस्; र त्यो मरेको पशु त्यसैको हुनेछ।35“कुनै मानिसको गोरुले अर्को गोरुलाई हान्यो, र त्यो मर्यो भने तिनीहरूले जीवित गोरुलाई बेचून्, र बेचेको रकम र मरेको पशु बराबर बाँडून्।36तथापि त्यस गोरुको पहिलेदेखि नै हान्ने बानी छ भनेर जानिएको थियो, तर पनि उसले त्यसलाई बाँधेन भने त्यस मालिकले गोरुको सट्टा गोरु नै देओस्, र मरेको गोरुचाहिँ त्यसैको होस्।”