प्रस्थान15

मोशा र मिरियमको गीत

1तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए:“म याहवेहको निम्ति गाउनेछु;किनकि उहाँ अति नै उच्‍च पारिनुभएको छ।घोडा र त्यसको सवारलाईउहाँले समुद्रमा फालिदिनुभएको छ।
2“याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ;उहाँ मेरा मुक्ति हुनुभएको छ।उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु;मेरा पिताका परमेश्‍वर, र म उहाँको नामलाई उच्‍च पार्नेछु।”3याहवेह योद्धा हुनुहुन्छ;उहाँको नाम याहवेह हो।4फारोका रथहरू र तिनका सेनालाईउहाँले समुद्रमा फालिदिनुभएको छ।फारोका सर्वोत्तम पदाधिकारीहरूलाल समुद्रमा डुबाइएका छन्।5गहिरा पानीले तिनीहरूलाई छोपिदिएका छन्;तिनीहरू ढुङ्गाझैँ गहिराइमा डुबेका छन्।6हे याहवेह, तपाईंको दाहिने हात,शक्तिमा गौरवशाली थियो।हे याहवेह, तपाईंको दाहिने हातले,शत्रुलाई चकनाचुर पारेको छ।
7“तपाईंका गौरवको महानतामातपाईंले विरोधीहरूलाई फ्याँकिदिनुभएको छ।तपाईंले आफ्नो क्रोधको ज्वाला पोख्नुभयो;जसले तिनीहरूलाई परालझैँ भस्म पार्‍यो।8तपाईंका नाकको सासको वेगलेपानी एक ठाउँमा थुप्रो लाग्यो,तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए;गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।9शत्रुले घमण्ड गर्‍यो,‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु।म लुटिएका सामानहरू बाँड्नेछु;म तिनीहरूलाई निल्नेछु।म आफ्नो तरवार थुत्नेछु,र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’10तर तपाईंले आफ्नो सास फुक्नुभयो;र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो।तिनीहरू शक्तिशाली पानीमासिसाझैँ डुबे।11हे याहवेह,देवी-देवताहरूमा तपाईंजस्तो को छ र?पवित्रतामा अति गौरवशाली,महिमामा भययोग्य,र अद्‌भुत कार्यहरू गर्नुहुने अरू को छ र?
12“तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो;अनि पृथ्वीले हाम्रा शत्रुहरूलाई निलिहाल्यो।13तपाईंले आफ्नो अचुक प्रेममा,आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्‍याउनुहुनेछ।तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाईआफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।14जातिहरूले सुन्‍नेछन् र काँप्नेछन्;पलिश्तीहरूलाई वेदनाले पक्रनेछ।15एदोमका अगुवाहरू भयभीत हुनेछन्;मोआबका शक्तिशाली अगुवाहरू काँप्नेछन्;कनानका सारा मानिसहरू बिलाइजानेछन्;16उनीहरूलाई आतङ्क र डरले छोप्नेछ।हे याहवेह, तपाईंका प्रजा पार नहोउन्जेल,तपाईंले किन्‍नुभएका यी प्रजा पार नहोउन्जेल—तपाईंका पाखुराको शक्तिलेउनीहरू पत्थरझैँ अचल हुनेछन्।17तपाईंले तिनीहरूलाई भित्र ल्याउनुहुनेछ रतपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ—हे याहवेह, त्यो ठाउँ, जसलाई तपाईंले आफ्नो लागि वासस्थान बनाउनुभएको छ;त्यो समागम पालमा, हे प्रभु, जसलाई तपाईंका हातहरूले स्थापित गर्नुभएको छ।
18“याहवेहले सदासर्वदाराज्य गर्नुहुन्छ।”19जब फारोका घोडा, रथ र घोडसवारहरू समुद्रभित्र पसे, तब याहवेहले समुद्रको पानी फर्काएर तिनीहरूमाथि ल्याइदिनुभयो; तर इस्राएलीहरू त समुद्रको बीचबाट ओबानो जमिनमाथि हिँडे।20तब हारूनकी दिदी अगमवादिनी मिरियमले आफ्नो हातमा एउटा खैँजडी लिइन्; अनि अरू स्त्रीहरू पनि खैँजडी लिएर नाच्दै तिनको पछि-पछि लागे।21मिरियमले यसरी गीत गाउन थालिन्:“याहवेहका निम्ति गाओ;किनकि उहाँ अति उच्‍च पारिनुभएको छ।घोडा र त्यसको सवार दुवैलाईउहाँले समुद्रमा फालिदिनुभएको छ।”

मारा र एलीमको पानी

22तब मोशाले इस्राएललाई लाल समुद्रबाट लगे, र तिनीहरू शूरको उजाडस्‍थानभित्र पसे। तीन दिनसम्म तिनीहरू उजाडस्थानमा पिउने पानीविना यात्रा गरे।23जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई माराभनिन्छ।)24यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?”25तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो।26उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”27त्यसपछि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। तिनीहरूले त्यहीँ पानीको नजिक पाल टाँगे।