एस्तर9
1अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए।2यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्।3अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए।4राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए।5यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे।6राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे।7तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,8पोराता, अदलिया, अरीदाता,9पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे,10जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।11राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो।12राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”13तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”14यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए।15शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।16त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्।17यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।18शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।19यसैकारण टाढा-टाढाका सहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।