2 शमूएल8

दावीदका विजयहरू

1समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए।2दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे।3यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।4दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए।5जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे।6तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।7दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए।8हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए।9जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने,10तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए।11राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे।12ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।13नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।14तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।

दावीदका अधिकारीहरू

15दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।16सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए।17अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए।18बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार थिए।