2 शमूएल22

दावीदको प्रशंसाको गीत

1जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो।2तिनले भने:याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरो उद्धारकर्ता हुनुहुन्छ;3मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।मेरो ढाल र मेरो उद्धारको सिङ  हुनुहुन्छ।उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ।तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
4म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ;र म मेरा शत्रुहरूबाट बचाइन्छु।5मृत्युका छालहरूले मलाई घेरे;विनाशको बाढीले मलाई भयभीत पारे।6चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो।
7मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ;मैले मेरा परमेश्‍वरलाई पुकारेँ।उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो;मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।8पृथ्वी काम्यो, र हल्‍लियो;आकाशका  जगहरू हल्‍लिए;तिनीहरू कामे किनकि परमेश्‍वर रिसाउनुभएको थियो।9उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो;उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो;त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।10उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो;अँध्यारो बादल उहाँको पाउमुनि थियो।11करूबहरूमा सवार भएर उहाँ उड्नुभयो;बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।12उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो;हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो।13उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो,अनि चट्याङबाट आगोका झिल्काहरू निस्के।14याहवेह स्वर्गबाट गर्जनुभयो;सर्वोच्‍चको सोर गुञ्जायमान भयो।15उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो;उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।16हे याहवेह, तपाईंको हप्काइमार तपाईंका नाकका प्वालबाट निस्केका सासलेसमुद्रका तहहरू देखा परे,र पृथ्वीका जगहरू प्रकट भए।
17उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो;उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।18उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।19मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे,तर याहवेह मेरा सहारा हुनुभयो।20उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो;उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो।
21याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ;मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।22किनकि म याहवेहको मार्गमा चलेको छु;मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ।23उहाँका सारा नियमहरू मेरा अगि छन्;उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।24म उहाँको अगि निर्दोष रहेको छु;र मैले आफूलाई पापबाट जोगाइराखेको छु।25याहवेहले मेरो धार्मिकताअनुसारर उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
26विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ,निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;27शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ;तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।28तपाईं नम्रहरूलाई बचाउनुहुन्छ;तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।29हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ;तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।30तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।
31परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ:याहवेहको वचन दोषरहित छ;उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।32किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र?हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र?33उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ;र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ।34उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ;उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ।35उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ;मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।36तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ,तपाईंको सहायताले मलाई महान् बनाएको छ।37तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ;ताकि मेरा गोडा नचिप्लून्।
38मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ;तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।39मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्;तिनीहरू मेरा पाउमुनि लडे।40तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ;तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ।41तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ,र मैले मेरा वैरीहरूलाई विनाश पारेँ।42तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन।तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।43मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ;अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ।
44तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो;तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो;मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।45विदेशीहरू मेरा अगि झुक्दछन्;मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्।46तिनीहरूको सारा साहस हराउँछन्;र तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्।
47याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्!परमेश्‍वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्‍च होऊन्!48उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ,जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,49जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ।तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ;हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ।50यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु।
51“उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ;र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम,दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।”