2 शमूएल18
1दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।2दावीदले आफ्ना सेनाहरूलाई एक तिहाइ योआबको नेतृत्वमा, एक तिहाइ योआबको भाइ, अर्थात् सरूयाहका छोरा अबीशैको नेतृत्वमा, एक तिहाइ गित्ती इत्तैको नेतृत्वमा पठाए। राजाले सेनाहरूलाई भने, “म आफैँ पनि तिमीहरूसँग लडाइँमा अवश्य जानेछु।”3तर मानिसहरूले भने, “हजुर बाहिर ननिस्कनुहोस्। यदि हामी भाग्न बाध्य भयौँ भने पनि तिनीहरूले हाम्रो बारेमा वास्ता गर्नेछैनन्। यदि हामीमध्ये आधाजति नै मर्यौँ भने पनि तिनीहरूले वास्ता गर्नेछैनन्। तर हजुर त हाम्रा दश हजार बराबरको हुनुहुन्छ। अहिले हजुरले सहरबाट हामीलाई सहयोग गर्नुभए असल हुनेछ।”4राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्क्ति गरेर अगि बढे।5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने।6दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो।7त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए।8युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो।9युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्चरमा सवार थिए। जब तिनको खच्चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्चरचाहिँ अगि बढिरह्यो।10जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।”11योआबले त्यो कुरा भन्ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।”12तर त्यस मानिसले जवाफ दियो, “मेरो हातमा चाँदीका एक हजार शेकेल नै जोखेर दिनुभएको भए तापनि म राजाको छोराको विरुद्धमा हात उठाउने थिइनँ। हामीले सुन्ने गरी तपाईंलाई, अबीशै र इत्तैलाई, ‘मेरो खातिर त्यस जवान अब्शालोमलाई हानि नगर्नू’ भनी राजाले आज्ञा दिनुभएको थियो।13अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्नुहुनेथियो।”14योआबले भने, “म तँसँग कुरा गरेर समय खेर फाल्न सक्दिनँ।” यसकारण तिनले आफ्नो हातमा तीन वटा बर्छा लिए। अनि अब्शालोम फलाँटको रूखमा अझ जिउँदै झुण्डिरहेका बेला उनले ती तिनको मुटुमा रोपिदिए।15त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए।16तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए।17तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए।18आफू जीवित हुँदा अब्शालोमले राजाको बेँसीमा आफ्नै निम्ति एउटा स्मारक खम्बा खडा गरेका थिए। तिनले सोचेका थिए, “मेरो नाम कायम राख्नलाई मेरो छोरा छैन।” तिनले त्यस स्मारकलाई आफ्नै नाम दिएका थिए; अनि आजको दिनसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ।