1राजाहरू4

सोलोमनका अधिकृतहरू र राज्यपालहरू

1यसरी सोलोमन राजाले इस्राएलभरि शासन गरे।
2तिनका प्रमुख अधिकारीहरू यिनै थिए:
सादोकका छोरा अजर्याह, जो पुजारी थिए;
3शीशाका छोराहरू एलीहोरेफ र अहीयाह, जो सचिवहरू थिए; अहीलूदका छोरा यहोशापात, जो लेखापाल थिए।4यहोयादाका छोरा बनायाह, जो मुख्य सेनापति थिए; सादोक र अबीयाथार, जो पुजारी थिए।5नातानका छोरा अजर्याह, जो राज्यपालहरूका अधिकारी थिए; नातानका छोरा याबूद, जो पुजारी र राजाका निजी सल्‍लाहकार थिए।6अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए।
7इस्राएलभरि सोलोमनका बाह्र जना जिल्‍ला राज्यपालहरू थिए, जसले राजा र राजकीय घरानाका निम्ति सामान जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
8तिनीहरूका नाम यिनै हुन्:
एफ्राइमको पहाडी मुलुकमा बेन-हूर,
9माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा, बेन-देकेर।10अरूब्बोतमा, बन-हेसेद (तिनको जिम्मामा सोकोह र हेपेरका सबै ठाउँ पर्दथे);11नापोत-डोरमा, बेन-अबीनादाब (तिनको विवाह सोलोमनकी छोरी तापतसित भएको थियो);12तानाक, मगिद्दो र यिजरेलको मन्दिरको सार्तानको छेउमा भएको बेथ-शान, अर्थात् बेथ-शानदेखि अबेल-महोला र योक्मामसम्म सम्पूर्ण इलाकाको निम्ति अहीलूदका छोरा बाना;13रामोत-गिलादमा, बेन-गेबेर (गिलादमा मनश्शेको छोरा याईरका सबै इलाका साथसाथै बाशानको अर्गोब जिल्‍ला र त्यसका पर्खाल भएका अनि काँसोका मूलढोका भएका साठी वटा सहरहरू तिनको अधीनमा थिए);14महनाइममा इद्दोका छोरा अहीनादाब;15नप्‍तालीमा, अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);16आशेर र बालोतमा, हूशैका छोरा बाना;17इस्साखारमा, परूवाका छोरा यहोशापात;18बेन्यामीनमा, एलाका छोरा शिमी;19गिलादमा, ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोनको देश अनि बाशानका राजा ओगको देश)। जिल्‍लामा तिनी एउटै मात्र राज्यपाल थिए।

सोलोमनलाई दैनिक चाहिने सामान

20यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए।21सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशका साथसाथै इजिप्टको सिमानासम्म सबै राज्यमा शासन गर्थे। यी देशहरूले राजकर ल्याउँथे। तिनीहरू सोलोमनको जीवनकालभरि तिनका अधीनमा रहे।22सोलोमनका दैनिक चाहिने सामान तीस कोर्स मसिनो पिठो र साठी कोर्स अन्‍न,23दश वटा पालेका गोरुहरू, बीस वटा चरनमा पालिएका गोरुहरू, र एक सय वटा भेडाबाख्राका साथमा मृग, चित्तल, जरायो र पालेका पक्षीहरू थिए।24किनकि तिनले नदीको पश्‍चिमपट्टिका सबै राज्यहरू, अर्थात् तिप्सादेखि गाजासम्म राज्य गर्थे। तिनको चारैतिर शान्ति थियो।25सोलोमनको जीवनकालभरि दानदेखि बेर्शेबासम्म यहूदा र इस्राएलमा प्रत्येक मानिस आफ्नै दाख र नेभाराको रूखमुनि सुरक्षित थिए।26सोलोमनका रथ घोडाहरू र तिनका बाह्र हजार घोडाहरूका निम्ति चार हजार तबेलाहरू थिए।27प्रत्येक महिना जिल्‍ला राज्यपालहरूले आफ्नो पालोमा सोलोमन राजा र तिनका मेचमा खानेहरूका निम्ति आवश्यक सामान जुटाउँथे। तिनीहरूले कुनै कुराको अभाव हुन दिँदैन थिए।28तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे।

सोलोमनको बुद्धि

29परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्‍टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्‍न नसकिने समझशक्ति दिनुभयो।30सोलोमनको बुद्धि पूर्वका सारा मानिसहरू र इजिप्टका सम्पूर्ण जनहरूको बुद्धिभन्दा महान् थियो।31तिनी एज्री एतान र माहोलका छोराहरू हेमान, कलकोल, दर्दा र सबै मानिसहरूभन्दा बढी बुद्धिमान् थिए। तिनको ख्याति चारैतिरका राष्ट्रहरूमा फिँजियो।32तिनले तीन हजार हितोपदेशहरू बोले, र तिनले एक हजार पाँच वटा गीतहरू लेखे।33तिनले लेबनानका देवदारुदेखि लिएर पर्खालबाहिर उम्रने हिसपसम्मका सबै वृक्षहरूको बारेमा वर्णन गरे। तिनले पशुहरू, चराहरू, घस्रने जन्तु र माछाहरूको विषयमा पनि बताए।34सोलोमनको बुद्धिका कुरा सुन्‍न भनेर हरेक देशका राजाहरूले आफ्ना राजदूतहरूलाई पठाउँथे।