1तिनीहरूले परमेश्वरको सन्दुक ल्याए र दावीदले सन्दुकको निम्ति तयार पारेको विशेष पालभित्र त्यसलाई राखे। तिनीहरूले याहवेहको सामु होमबलि र मेलबलि चढाए।2दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए।3त्यसपछि तिनले हरेक इस्राएली पुरुष र स्त्रीलाई एउटा रोटी, खजूरको डल्ला र किसमिसको झुप्पा दिए।4दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।5आसापचाहिँ अगुवा थिए; दोस्रो दर्जामा जकरिया, त्यसपछि यीएल,शमीरामोत, यहीएल, मत्तीत्याह, एलिआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। तिनीहरूले सारङ्गी र वीणा बजाउँथे। आसापले चाहिँ झ्याली बजाउँथे।6अनि बनायाह र यहजीएल पुजारीहरूले नियमित रूपले परमेश्वरको करारको सन्दुकको सामु तुरहीहरू बजाउँथे।7त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे:8याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।9उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!10उहाँको पवित्र नाममा गर्व गर;याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।11याहवेह र उहाँको शक्तिलाई हेर;उहाँको मुहारको निरन्तर खोजी गर।12उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर,उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!13हे याहवेहका सेवक इस्राएलका सन्तान हो!हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!14उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ;उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।15परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;16त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो;अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,17त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,र इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो:18“म तँलाई कनान देश दिनेछु,त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”19जब तिनीहरू संख्यामा थोरै थिए,अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।20तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।21उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:22“मेरा अभिषिक्त जनहरूलाई नछोओ;मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”23हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ;दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।24जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर!सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!25किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।26किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्;तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।27उहाँको सामु गौरव र वैभव छन्;उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।28हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।29याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;भेटी लिएर उहाँको सामु आओ।याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!30हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्!संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्लिन सक्दैन।31स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्!तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”32समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्!खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!33तब वनका रूखहरूले गाऊन्,तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्;किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।34याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।35यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्वर, हामीलाई बचाउनुहोस्;हामीलाई एक ठाउँमा भेला गर्नुहोस्,र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्;ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ,र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”36याहवेह, इस्राएलका परमेश्वरलाईसदासर्वदा प्रशंसा होइरहोस्!तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”37त्यसपछि दावीदले आसाप र तिनका सहयोगीहरूलाई विधिअनुसार हरेक दिन याहवेहको करारको सन्दुकको सामु नियमित रूपले गर्नुपर्ने सेवा गर्नलाई खटाए।38तिनले यदूतूनका छोरा ओबेद-एदोम र तिनका अठसट्ठी जना सहयोगीहरूलाई पनि तिनीहरूसँग सेवा गर्नलाई खटाए। ओबेद-एदोम र होसा द्वारपालहरू पनि थिए।39दावीदले पुजारी सादोक र तिनका अरू सङ्गी पुजारीहरूलाई गिबोनको अग्लो ठाउँमा याहवेहको समागम पालमा40याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए।41तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”42हेमान र यदूतूनचाहिँ पवित्र भजनको निम्ति तुरही फुक्ने, झ्याली बजाउने र अरू बाजाहरू बजाउन जिम्मेवार थिए।43त्यसपछि बाँकी सबै मानिसहरू आ-आफ्ना घरतिर लागे; अनि दावीदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन घर फर्के।